पोखरा र सगै हुर्किएको सन्दीप सापकोटा एक परिचय

        
म सन्दीप सापकोटा हाल स्थाई  बसोवास पोखरा , हुनत मेरो जन्मस्थल पोखरा होइन । पोखरादेखि वस यात्रामा करिव सवा दुइ  घण्टा पूर्वमा  पर्ने कास्कीकै थुमाकोडांडा   गाउँमा म जन्मेको हुँ । प्राथमिक  स्तरको शिक्षा पुरा गर्दासम्मको मेरो बाल्यकाल त्यहाँ वित्यो र ८  वर्षको बाल्यकालमा  उमेरमा नवलपरासी को कावासोती र १३ बर्षको उमेरमा पोखरा झरेँ । त्यसपछिका सवै दिनहरु पोखरासँगै हाँस्दै खेल्दै, पौंठे जोरि खेल्दै, जिस्किंदै यसैको काखमा विताएको छु । अव त लाग्छ, मेरो पोखराले मलाई कहिल्यै टाढा वनाउने छैन, न त मैले नै मेरो पोखरालाई कहिल्यै टाढा वनाउन सक्छु । मेरो पोखराले नै मलाई उच्च शिक्षा दिलायो, कर्म गर्न सिकायो , एउटा अशल मान्छे पनि बनायो  । त्यति मात्र होइन, आफूभित्रको समाजमा एउटा सामाजिक प्राणीको रुपमा मलाई स्थापित गरायो मेरो पोखराले ।

हरेक दिन विहान उठ्ने वित्तिकै मेरो पोखराको प्राकृतिक श्रीपेच वनेर उभिइरहेको माछापुच्छ्रेलाई चुमिरहेको हुन्छु । प्राकृतिक पाउजु वनेर मेरो पोखराको गोडामा पहिरिएको फेवातालमा हरेक दिनको नियमित कर्मपछि दिनभरिको थकानलाई मेटाउने गर्छु फेवातालसँगै कुस्ति खेल्छु, जिस्किन्छु, हाँस्छु, रमाउँछु अनि नियमित कर्मले दिने गरेका तनावहरुलाई उसैसँग विसाउने गर्छु उसकै मायामा चुर्लुम्म डुवुल्कि मार्छु यसरि फेवातालले मसँग जिन्दगिभर तृप्त नहुने माया गाँसिसकेको छ । त्यसै गरि मेरो पोखराका सुकोमल दुइ हातहरुमा सराङ्गकोट र काहूँडाँडा सुन्दर हाते वाला वनेर पहिरिएका छन् । नियमित कर्मले दिने गरेका फुर्सदका दिनहरुको उपयोग गरेर यी दुवै स्थलहरु चुम्न हरेक महिना म त्यहाँ पुगेकै हुन्छु । अनि त्यहाँवाटै मैले मेरो पोखराको वास्तविक रुप नियालिरहेको हुन्छु । मेरा आँखा कहिल्यै तृप्त हुँदैनन् मेरो पोखराको वास्तविक रुप नियालेर । विन्ध्यवासिनी, तालवाराही, भद्रकाली जस्ता आस्थाका प्रतिकहरुको तिलहरी लगाइरहेको छ मेरो पोखराले । जहाँ मैले आफ्नो आस्था विसाउँछु, वेदना पोख्छु, घुर्की लगाउँछु, अलि वढि पीडा भएका वेला आँसु नै समर्पित गरिदिन्छु ।

वौद्ध गुम्वा र विश्व शान्ति स्तुपाको माडवारी र सिलमुन्द्री लगाएको छ मेरो पोखराले । जहाँ म फुर्सदको समयमा गई आफूलाई सत्मार्ग र शान्तिमार्गमा लगाउने कोशिश गर्छु अनि मेरो पोखराभित्र हावि हुँदै गएका र मेरो पोखरालाई कुरुप वनाउने खालका विभिन्न रमझमहरुले सिकाएका धुलो मैलोहरुलाई टकटक्याएर झार्ने कोशिश गर्छु फुलि र बुलाँकिको रुपमा मेरो पोखराले पहिरिएका अन्तराष्ट्रिय पर्वतिय संग्रहालय, अन्नपूर्ण संग्रहालय, क्षेत्रिय संग्रहालय जस्ता गहनाका टलकभित्र मेरो पोखराको संस्कृति र उसको इतिहास नियाल्ने मेरो वानी वसिसकेको छ । जहाँवाट मैले मेरो पोखराको अत्यन्तै गौरवशाली संस्कृति र इतिहास भेटाइरहेको छु । त्यसै गरी महेन्द्रगुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, पाताले छाँगो जस्ता मेरो पोखराका सुन्दर जनेन्द्रियहरुमा मैले नियमित रुपमा मेरो पोखराको गर्भभित्र लुकेर रहेका पुरातात्विक तथ्य र सत्यताहरुको अवलोकन गरिरहेको छु । जसवाट मैले मेरो पोखराभित्र संसारमै नभएको अदभुत आकर्षा शक्ति रहेको तथ्य भेटाएको छु । भुपी शेरचन, अलि मिया, झलकमान गर्न्धर्व जस्ता दर्जनौँ स्रष्टाहरुको फुल सधैं आफ्नो शिरमा सिउरिरहेको छ मेरो पोखराले । जसको सुगन्धले म हरवखत आनन्दित र रोमाञ्चित हुने गर्छु मेरो पोखराले आफ्नो शिरमा सजाइराखेका ती स्रष्टाका फुलहरुले मलाई वाँच्न र कर्म गर्न सिकाएको मेरो पोखरालाइ मात्र होइन, मेरो अस्थित्व संगालेर राखिरहेको मेरो देशलाई नै सुगन्धित वनाइरहेका छन् । स्रष्टाका ती फुलहरुको नाम मात्र सम्झँदा पनि गौरवले मेरो छाति फुल्छ । गाइजात्रा, भैरवजात्रा, ल्होसार, ढुङ्गेसाँघु मेला, वडादशैं महोत्सव, तीज मेला, पोखरा महोत्सव, फेवा महोत्सव लगायतका दर्जनौं पर्व र महोत्सवहरुको टिका र सितारा मेरो पोखराले निधारमा कहिल्यै नउप्किने गरी लगाइरहेको छ । निधारमा देखिने ती टिका र सिताराहरुको टलकभित्र मैले मेरो पोखराको वेग्लै अस्थित्व पाइरहेको छु । त्यसैगरी शान्ति वन, हरियोखर्क वन, फेवाताल पारीको रानीवन जस्ता हरियाली वन जङ्गलहरुले मेरो पोखराको सुन्दर केश सजाएका छन् । ती केशहरुले मेरो पोखराको सौन्दयर्तामा कसि लगाउनै नपर्ने गरी चिटिक्क वनाइदिएका छन् । ती सुन्दर केश भित्र आफूलाई पाउँदा कहिलेकाहिँ कसैले मलाई साक्षात र्स्वर्गमै उतारिदिएछ कि भन्ने महशुश गर्छु त्यसै गरी निलो पोतेमा सजिएको माला वनेर मेरो पोखरालाई सजाइरहेको छ सुन्दर सेती नदीले । जसको पवित्र वहाव र सुन्दरतालाई नियाल्न अनि त्यसको पवित्र सेचनले आफूलाई आध्यात्मिक शान्ति दिलाउन हरेक विहान म सेती नदीको किनारमा पुग्ने गरेको छु । सेती नदीको वहावसँगै आफ्नो भावना वगाउने गरेको छु । अनि सेती नदीको छालले दिने तरङ्गमा आफ्नो मनका तरङ्गहरु मिसाउने गरेको छु ।

मेरो पोखराको गलामा पहिरिएको यो सुन्दर मालाको गहिराइवाट मैले मेरो पोखराका भित्री वाहिरी दुवै आकर्षाहरु एकसाथ भेटाउने गरेको छु । त्रिभुवन विश्व विद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय जस्ता देशका प्रमुख विद्यालयसँग सर्म्वर्द्धन प्राप्त गरी संचालित सरकारी तथा निजी क्षेत्रका विश्व विद्यालय, क्याम्पस, उच्च मा.वि.लगायत यहाँ खुलेका सयौं सरकारी, सामुदायीक तथा निजी विद्यालयहरुले मेरो पोखरालाई शिक्षाको मुर्तीको रुपमा सिँगारिरहेका छन् । जसका कारण मेरो पोखराले म लगायत थुपै्र सन्ततिहरुलाई शिक्षित जनशक्तिको रुपमा उभ्याएर देशभित्र र वाहिरका विभिन्न राजनैतिक, प्रशासनिक, शैक्षिक तथा कुटनीतिक निकायहरुमा प्रतिनिधित्व गर्न पठाइरहेको छ । शिक्षा क्षेत्रमा जर्ज जोन जस्ता शिक्षाप्रेमी अगुवाहरुको पसिना पनि मेरो पोखराले आफ्नो माटोमा भिजाएको छ । यसले गर्दा मेरो पोखराको योगदान प्रति म मात्र होइन, सारा सन्तति नतमस्तक हुनुपर्ने अवस्था छ । यसवाट मेरो पोखरा प्राकृतिक सौर्न्दर्यले चिटिक्क छ, सांस्कृतिक विधाहरुले भरिपूर्ण छ, अनि शैक्षिक केन्द्रको खानी छ ।

तर मेरो पोखरा भित्रकै विभिन्न व्यक्ति, निकायहरु र विशेष गरी फेवातालको वरिपरि वस्नेहरुले ढल, नाला र सेप्टिक ट्यांक सिधा फेवातालमा मिसाइदिनाले दिनदिनै फेवाताल पुरिंदै गइरहेको छ । फेवाताललाइ वेचेर खानेहरुले ताल कुरुप वनाउँदै गएका छन् । तपाई अहिले तालको तटिय क्षेत्रमा जानुहोस् त जलकुम्भी झारले ताल सवै ढपक्कै ढाकेको छ । आजभन्दा पाँच सात वर्षअगाडि तालमा जलकुम्भी झारको निशाना नै देख्न पाइने थिएन । अहिले वर्षौपिच्छे जलकुम्भी झार फ्याक्ने नाउँमा विभिन्न संघसंस्थाहरुको लाखौँ रुपैयाँ खर्च भइरहेको छ, त्यो पनि अस्थायी समाधानका लागि । त्यो जलकुम्भी झार किन यसरी मौलाउँदै जान थाल्यो थाहा छ ताल वेचिखानेहरुलाई - किनभने तालको पानी र पिँधको माटो वर्षौपिच्छे मलिलो वन्दै गइरहेको छ । सेप्टिक ट्यांक, ढल र तटिय इलाकामा वसेर कपडा धोएको मयल सहितको सावुनपानीले तालको पिँधमा मल पनि थुप्रिँदै गइरहेको छ । अनि फेवातालमा वर्षौपिच्छे जलकुम्भी नमौलाएर अरु के मौलाउँछ त - मेरो पोखराको अदम्य टलक भएको फेवातालरुपी पाउजु झार्न तल्लिन देखिएका छन्, यहाँकै कपुतहरु । माछापुच्छ्रेको कुमारित्व भङ्ग गर्ने कुवुद्धि पलाउँदै गएको छ, यिनीहरुमा । मेरो पोखराका र्सार्वजनिक स्थलहरु दिनदिनै अतिक्रमण गर्दै यसलाई कुरुप वनाउन ज्यान छाडेर लागि परेका छन्, यहाँका भुमाफिया कुमान्छेहरु । मेरो पोखराको गलामा पहिरिएको मालाको निर्मलता र पवित्रताको टलकलाई अव फेरी प्राप्त हुन नसक्ने गरी सेती नदीलाई ढलमय वनाइदिएका छन्, यहाँका गाईखुरेहरुले । मेरो पोखराको प्राकृतिक रुपमा सिगारिएका हरियाली केशहरुलाई दिनदिनै उजाड वनाउन कम्मर कसेका छन्, यहाँका कु-पात्रहरुले । अर्कोतिर मेरो पोखरालाई लागु पदार्थ ओसार पसार तथा दुर्ब्यशन एवं वेश्यावृत्तिको अखडा पनि वनाउन खोजेका छन्, यहाँका सैतानहरुले ।
 काठमाडौंवाट हवाइ यात्रामा आउँदा गोरखा जिल्लाको मनकामना मन्दिर भन्दा माथिको आकाशवाट र वस यात्रामा आउँदा तनहु जिल्ला प्रवेश गरेपछि मेरो पोखराको श्रीपेच सुन्दर माछापुच्छ्रे मेरो पहिलो दृश्यमा ठोकिन्छ । एकपटक म विदेश यात्रा गएको वेला काहुँडाँडा र सराङ्गकोट जस्ता देखिने दुइवटा डाँडा उत्तिकै दुरीमा देख्दा मलाई मेरो मातृभुमीको झल्कोले मन धर्कियो, आँखावाट आँसु चुहिए । मेरो पोखरा छाडेर म कतै जानु नपरोस, यदि कुनै अदृश्य शक्ति वा इश्वर छ भने उसँग म यहि कामना गर्दछु । अनि मैले मेरो पोखरा व्रि्रेको र कुरुप भएको कहिल्यै देख्नु नपरोस । खवरदार पाखण्डीहरु ! मेरो पोखरालाई कुरुप वन्न म कुनै हालतमा दिन्नँ । अनि कुमारी माछापुच्छ्रेको कुमारित्व लुटिन पनि कुनै हालतमा दिन्नँ । वरु म मर्नु परोस्, मेरो पोखरा विगार्न म दिँदै दिन्नँ ।। कोहि सुपात्रको साथ पाए उनीहरुलाई गुहार्छु नपाए म एक्लै लड्छु, बाकयुद्ध गर्छु कलम युद्ध गर्छु हरेक तरिकाले मुकविला गर्छु । म मरुँ या वाचुँ, तर मेरो पोखरा सधैँ वाँच्नुपर्छ, सधैँ हाँस्नुपर्छ, अनि सधैँ आफ्नै वास्तविक पहिचानमा रमाउनुपर्छ ।



हजुर पनि पोखरा  घुम्न आउदा मलाई सम्झनु हुनेछ भन्ने आशा गर्दछु  

सन्दीप सापकोटा

0 comment here

Write Down Your Responses